Super News
Sunday, September 27, 2015
Saturday, September 12, 2015
नेपालको अखण्डता जोगाउन सक्ने/नसक्ने कुराको फैसला आजको २४ घण्टाभित्रः भट्टराई
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले २०० वर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको फैसला अाजको २४ घण्टामा हुने बताएका छन्। शनिबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन् 'सुगौली-सन्धीको यो २०० औं वर्ष हो।
आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० वर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ।'
उनले 'नेपाल' भनेको हिमाल, पहाड, तराईमा बसोबास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति /पेशाका जनताको अनेकताबीचको एकताको सामुहिक अभिव्यक्ति/पहिचान भएको उल्लेख गर्दै 'एउटा जाति/क्षेत्र/समुदायले मात्र आफुलाई 'नेपाली' र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न नसकिने पनि बताएका छन्।
भट्टराईले लेखेका छन् - नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने बिर्सेर वा बुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई 'अखण्ड' राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ।
भट्टराईले सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संविधान सभालाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ भन्ने कुरामा विवाद नभएको बताउँदै 'तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरैभन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउन नहुने' पनि उल्लेख गरेका छन्।
'पूर्वदेखि पश्चिमसम्मको तराई/मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन' भट्टराईले लेखेका छन् 'राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन।त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ। संवाद बाटै समाधान खोजौं। देशको अखण्डतालाई धरापमा नपारौं। २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन।'
Subscribe to:
Posts (Atom)